विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिकामा तरकारी तथा फलफूलको थोक बजार बनाइएको एक वर्ष पूरा भईसकेको छ । तर करिब १४ करोड रुपैयाँ लागतमा बनाइएको बजार भने अझै सञ्चालनमा ल्याइएको छैन ।
कटहरीस्थित जनप्रिय माध्यमिक विद्यालयको चार विघा दुई कठ्ठा दुई धुर र १८ कठ्ठा ऐलानी जग्गा ५० बर्षका लागि भाडामा लिएर कृषि मन्त्रालयअन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजनाले फलफूल तथा तरकारी थोक बजार गत भदौमा बनाएको हो । १३ करोड ७६ लाख ५४ हजार रुपैयाा खर्चिएर बनाइएको बजार केन्द्र सरकारले गत चैतमा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । बजारमा थोक बिक्रेताका लागि गोदामसहितका सटर, खुद्रा बिक्रेता र कृषकका लागि उत्पादन गर्ने स्थानका अलावा प्रशासनिक भवन, कृषक अतिथि गृह लगायत संरचना छन् । तै पनि अझै प्रयोगमा आएको छैन । कटहरी फलफूल तथा तरकारी थोक बजारको नियमावली स्वीकृत भइसकेको छ भने बजारको कार्यकारी निर्देशक र अन्य कर्मचारीको समेत नियुक्ति भइसकेको भूमिव्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सचिव बिमलकुमार निर्मलको भनाई छ । मन्त्रालयले भाडा निर्धारण समिति, स्टल निर्धारण समिति लगायतका विभिन्न समितिले काम गरिरहेको बताउदै छठ पर्व पछिदेखि नै बजार सञ्चालनमा आउने बताए पनि अहिलेसम्म बजार संचालनमा आउन सकेको छैन् ।
विराटनगरको गुद्री बजारलाई व्यवस्थित गर्न महानगरले पहल गरिरहे पनि ककहरी बजार आफूहरुका लागि अनुकुल नरहेको भन्दै यहाँका ब्यापारीले कटहरीमा नजाने अडान लिएपछि महानगर पनि अन्योलमा परेको छ । यहाँको गुद्री बजार स्थानान्तरण गर्नका लागि आफूहरुले पहल गरिरहेको विराटनगर महानगरपालिकाका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहालले बताउनु भयो ।
बर्सेनि ४५ हजार मेट्रिक टन तरकारी र नौ हजार मेट्रिक टन फलफूल बिक्री हुने लक्ष्य राखिएको बजार कृषक र उपभोक्ताको हितका लागि पनि जतिसक्दो चाडो सञ्चालनमा ल्याउन आबश्यक छ ।