विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिरय गोल्डकपको च्याम्पियन बनेको छ ।
आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मी च्याम्पियन बनेको हो । चर्च ब्वाइजविरुद्ध २–० गोलको नतिजामा आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए । खेलमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले दुवै गोल गरेका थिए । चर्च ब्वाइजका सुनिल खड्काले गोल गर्ने अवसर गुमाएका थिए । खेलको उत्कृष्ट गोलरक्षक आर्मीका गोलरक्षक विवश चौधरी घोषितहुँदा चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै, आर्मीका दिपक गुरुङ उत्कृष्ट रक्षक घोषित हुँदा आर्मीकै टंक बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भए । फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास घोषितहुँदै पुरस्कृत भए । गोल्डकपकै उत्कृष्ट खेलाडी आर्मीका कप्तान टेकबहादुर बुढाथोकी घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कार प्रदान गरे । उत्कृष्ट प्रशिक्षकमा आर्मीकै नविन न्यौपाने घोषित भए । विजेता आर्मीले नगद १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद ६ लाख २५ हजार पुरस्कार पाए । विजेता तथा उपविजेता टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गर्नुभएको थियो । भारतका दुई टिमसहित १० वटा टिम सहभागी गोल्डकप बिर्तामोडको जायोन सपोर्टस् क्लबले आयोजना गरेको हो ।