वर्षाैदेखि बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले काम सुरु गरेसँगै निमार्णको काममा तिब्रता आएको छ । चिनियाँ कम्पनीले दुई सिफ्टमा काम गरेर भएपनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दावी गरेको छ ।
इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरु गरको छ । कम्पनीले ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारबाट काम सुरु गरी सकेको छ । कम्पनीले आउदो असार मसान्तभित्र पानी सुन्दरीजल खसाल्ले योजनाका साथ हप्ता दिन भित्र थप एक सय कामदार थपेर दुई सिफ्टमा काम गर्ने भएको छ । कम्पनीले मिति नै घोषणा गरेर काम सुरु गरेपनि मेलम्चीको पानी अबको छ महिनामा काठमाडौं आउनेमा विश्वस्थ हुनसक्ने कुनै आधार भने देखिदैन । कामदारहरुको रकम सीएमसीले भुक्त्तानी गर्न नसकेका कारण स्थानीय ठेकेदारहरुले काम अवरोध गर्ने संभावना देखिएको छ ।
सीएमसीले स्थानीय ठेकेदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यता, स्थानीयबासी सडक पूर्वाधार निमार्णमा भएको ढिलाईलाई लिएर आक्रोशित छन् । उनीहरुले सिन्धुपाल्चोकको पानी काठमाडौं लाने भए रोयल्टी बाँडफाँड, एक घर एक धारा उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै आएका छन । अनुगमनमा मेलम्ची पुग्नु भएकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्थानीय जनताका मागलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले समस्या समाधान गरी छिटो काम सम्पन्न गर्न सरकार अडिग रहेको बताउनुभयो ।
यस्तै, सांसदहरु सहित मेलम्ची खानेपानी आयोजना अनुगमनका लागि पुगेकी प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले पनि स्थानीयको माग सम्बोधन गर्न समितिले पहल गर्ने बताउनुभयो । सरकारले निर्धारीत समयमा काम सम्पन्न गरे बोनस दिने र ढिलो गरे फाइन तिर्नेगरी सम्झौता गरेको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो ।