काठमाडौं । जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा अदालतले आदेश दिएको छ ।
थुनछेक बहस सकिएलगत्तै जिल्ला अदालत काठमाडौंका न्यायाधिश सुदर्शनराज पाण्डेको एकल इजलासले आज महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यो आदेशसँगै महरालाई डिल्लीबजार कारगार चलान गरिएको छ । पीडितले दिएको जोहरी, घटनास्थलको मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पीडितले घटनास्थलमा दिएको बयानको आधारमा उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो । सरकारी वकिलको कार्यालयले गत बिहीबार महराविरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरेको थियो । त्यसपछि शुक्रबार महरासँग बयान लिइएको थियो भने हिजो र आज उनीमाथि थुनछेक बहस गरिएको थियो ।