Sunday, November 24, 2024
Home > मुख्य समाचार > विराटनगरका मेयर दण्डप्रणाम गर्दै छठ मनाउन घाटसम्म..

विराटनगरका मेयर दण्डप्रणाम गर्दै छठ मनाउन घाटसम्म..

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको कठिन उपासना गर्नुभएको छ । डेढ दशक अघिदेखि नै मेयर पराजुलीले छठ पर्वको साधना गर्दै आउनुभएको छ ।

महानगरका मेयर पराजुली भगवान सुर्य र छठ मातालाई अर्घ दिन दण्डप्रणाम गर्दै घाटसम्म पुग्नु भएको छ । दण्ड प्रणामको कठिन साधनामा सडकमा लम्पसार परेर घिस्रिदै घाटसम्म पुग्नुपर्ने हुन्छ । दण्डप्रणामको क्रममा सडकमा लम्पसार पर्दै प्रत्येक चोटी भगवान सुर्यलाई नमस्कार गर्दै घिस्रिंदै अघि बढ्नुपर्ने हुन्छ । आफुले इच्छाएको भाकल पूरा भएका ब्रतालुहरुले प्रायजसो यस्तोे उपासना गर्छन । विगतमा आफ्नो परिवार र इष्टमित्रकालागि दण्डप्रणाम गरेर छठ माताको आराधना शुरु गरेको भएपनि पछिल्लो समय आफु मेयर भएर निर्वाचित भएपछि नगरवासी तथा आम नेपालीको सुख, समृद्धि,लोककल्याण र जगत कल्याणको कामनासहित दण्डप्रणामलाई निरन्तरता दिएको मेयर पराजुलीको भनाई छ ।

विराटनगर–३ स्थित शिव पाञ्चायन मन्दिर परिसरमा शनिवार विहान पुजाआजा गरेपछि मेयर पराजुलीले दण्डप्रणाम शुरु गर्नुभएको थियो । छैठ पर्वको विधान अनुसार शुक्रबारसांझ खरना ब्रतपछि निर्जल र निराहार ब्रत बस्नुभएका पराजुली मन्दिर परिसरबाट साढे ३ किलोमिटर टाढा सिघीया खोला किनारको परोपकार घाटस्थित छैठ पुजाको घाट सम्म दण्डप्रणामगर्दै पुग्नु भएको थियो । निराहार ब्रत बसे क्यान्सरजस्तो खतरनाक रोगका कोषहरु नष्ट हुने विभिन्न सोधबाट प्रमाणित भइसकेकाले ब्यक्तीगतरुपमा पनि छैठपर्वको उपासना लाभदायक रहेको मेयर पराजुलीले बताउनुभयो ।

मेयर पराजुलीको दण्डप्रणाम हेर्न उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, महानगरपालिकाका कर्मचारी,गायक सुमित खड्का तथा निर्देशक एवम अभिनेत्री दीपाश्री निरौला लगायत पुग्नुभएको थियो । सो क्रममा अभिनेत्री निरौलाले छठ पर्वको ठूलो महिमा रहेकाले यो पर्वको महत्व बढ्दै गएको बताउनुभयो । मेयर पराजुलीले यसपटक १६ औं पटक दण्ड प्रणामको उपासना गर्नुभएको छ । उहाँलाई भतिज प्रमेश पराजुलीले विगत ५ बर्षदेखि उपासनामा साथ दिंदै आउनुभएको छ । यसपटक भने उहाँलाई श्रीमती रंजिता पराजुलीले समेत साथ दिनुभएको छ । उहाँहरु पनि मेयर पराजुलीसंगै दण्डप्रणामगर्दै छठघाट पुग्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *