विराटनगर । शनिवार सांझ र आइतबार बिहान सम्पन्न हुने छठ पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगरका श्रद्धालु छठ पुजाकालागि स्थानिय जलाशयको किनारहरु सफासुग्घर तथा घाट तयारगर्न जुटेका छन ।
छठपर्वको मुख्य पुजा जलाशय किनारमै गर्ने बिधान अनुसार यतिखेर ब्रतालुहरु नदी,पोखरी र नहर किनारहरुमा साजसज्जा गर्न र घाट बनाउनमा ब्यस्त छन । यो पर्वमा अस्ताउदो र उदाउदो सुर्यलाई जलाशय किनारमै अर्घ दिनुपर्ने भएकाले खोलानालाको डिलहरु सफासुग्घर गरेर पवित्र बनाउने गरिन्छ । छठ पर्व मनाउने आस्थावानहरु यतिखेर पोखरीका डिल र नदी किनारको सरसफाइ गर्दै आ–आफ्नालागि पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन् । विराटनगरको सिंघिया र केशलिया खोला सहित स्थानिय पोखरीका डिलहरु सफासुग्घर गर्ने र सजाउने कार्य तीव्र पारिएको छ । महिनादिन अघिबाट नै विराटनगरमा छैठ पुजाको घाट सजाउने काम शुरु हुने गरेको छ ।जलाशयमै पसेर सुर्यदेव र छठ मातालाई अर्घ दिनुपर्ने भएका कारण खोला तथा पोखरीको सरसफाईमा बिशेष ध्यान दिइएको हुन्छ । यो पर्वकै अवसरमा भएपनि मानव उत्पतिको श्रोतकोरुपमा रहेको जलाशयहरुको सरसफाई हुनु यो पर्वको सबभन्दा ठुलो सकारात्मक पक्ष रहेको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीको भनाई छ ।
भगवान् सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत्रूपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् बिहीबार देखि सुरु भएको छ । शुक्रबार नहाय खाय र शनिबार खरना तथा आइतबार विहानको अर्घ दिइ छठ पूजा सम्पन्न हुनेछ । पञ्चमी तिथिमा दिनभर उपवास बसेर साँझको समयमा नयाँ माटोको चुलोमा खिर पकाएर पूजा गरी प्रसादका रूपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई प्रसादका रूपमा वितरण गर्ने गरिन्छ । यस विधिलाई ‘खरना’ भन्ने गरिन्छ । त्यसपछि, षष्ठी तिथिमा पोखरीको डिल, नदीको किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ र भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रूपमा पर्व सम्पन्न हुन्छ । यस पर्वमा भगवान् सूर्यलाई प्रसादका रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायतका प्रसादका सामग्री नयाँ माटोको भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ ।