Friday, November 22, 2024
Home > मुख्य समाचार > ग्याँस पाईपलाईन परियोजना र पाईपलाईन बिस्तारको शुभारम्भ

ग्याँस पाईपलाईन परियोजना र पाईपलाईन बिस्तारको शुभारम्भ

बारा । मोतिहारी चितवन ग्याँस पाईपलाईन परियोजना र अमलेखगंज चितवन पाईपलाईन बिस्तारको आज एक समारोहका बीच शुभारम्भ भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पाईपलाईन निर्माण स्थलमा संकेत पिल्लर गाडेर औपचारिक रुपमा कार्य प्रारम्भ गर्नुभएको हो । मोतिहारी चितवन ग्याँस पाईपलाईन सँगै अमलेखगंज चितवन पेट्रोलियम पाईपलाईनको पनि विस्तार हुनेछ । अमलेखगंजबाट चितवनको लोथर सम्म करिब ६२ किलोमिटर पाईपलाईन विस्तार हुने भएको हो । देशका विभिन्न भागमा पाईप मार्फत ईन्धन आपूर्ति गर्ने योजना अनुरुप पाईपलाईन बिस्तारको काम अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले बताउनुभयो । उहाँले देश भर पाईप मार्फत ईन्धन आपूर्ति गर्ने योजना अनुसार पाईपलाईन विस्तारको कार्य भएको र जसमा पेट्रोलियम पदार्थ मात्रै नभई ग्याँसलाई पनि पाईप मार्फत ल्याउने कार्यको शुरुवात भएको उहाँले बताउनुभयो ।

अमलेखगंज चितवन पेट्रोलियम पाईपलाईन बिस्तार गर्न अनुमानित लागत पाँच अर्व ६७ करोड लाग्ने र पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि चार अर्व १९ करोड लाग्ने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशिल भट्टराईले बताउनुभयो । अमलेखगंजमा जग्गा अपुग भएका कारण भण्डारणका लागि समस्या हुँदा चितवन सम्म पाईपलाईन बिस्तार गर्न लागिएको नायव कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । उहाँले चितवनबाट अन्यत्र समेत ढुवानी सहज हुँने भएका कारण चितवनमा भण्डारण गर्न लागिएको समेत जानकारी दिनुभयो ।  दोस्रो चरणको पाईपलाईन बिस्तारसँगै चितवनको लोथरमा एक लाख किलोलिटर भण्डारण गर्नका लागि ट्याङ्की निर्माणको काम समेत हुने जनाईएको छ । हाल मोतिहारीबाट पाईप मार्फत अमलेखगंज डिपो सम्म डिजेल मात्र आईरहेको छ । खाना पकाउँने ग्याँसका लागि छुट्टै अन्तरदेशिय पाईपलाईन निर्माण हुनेछ । भारतको मोतिहारी हुँदै नेपालको लोथर सम्म कुल एक सय ३१ किलोमिटर ग्याँस पाईपलाईन निर्माण हुँने भएको हो । ग्याँस पाईपलाईन निर्माणका लागि अनुमानित १५ अर्व लाग्ने छ । जसमा पाईपलाई निर्माणका लागि एघार अर्व १९ करोड र भण्डारणका लागि तीन अर्ब ८१ करोड लाग्ने जनाईएको छ । भारतीय सिमा रक्सौल देखि चितवन सम्म ९८ किलोमिटर लामो पाईपलाईन निर्माण हुनेछ । पाईपबाट आएको ग्याँस भण्डारण गर्न २० हजार मेट्रिक टनका ट्याङ्की निर्माण हुँने जनाईएको छ । यी दुबै परियोजनाको सम्भाव्यता अध्ययन नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनले संयुक्त रुपमा गरेको र बिस्तृत प्रतिवेदन प्राप्त भए पछि मात्र कूल लागत र समय निर्धारण हुँने समेत निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *