बारा । बारामा केही दिनदेखि फौजी किराले आतंक मच्चाएको छ । धानमा मात्रै नभएर मकै बालीसमेत नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् ।
बारामा फौजी किराको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । धानसँगै मकैबाली नष्ट गरेपछि किसानहरु निराश बनेका छ । जिल्लाका जीतपुरसिमरा, रामनगर, कोल्वी, फेंटा, निजगढ, सिम्रौनगढलगायतका स्थानीय तहमा चार सय बिघामा लगाएको धान बालीमा किराले क्षति पुर्याएको छ । धानबाली नष्ट गर्दा पनि सरोकारवाला निकायले किरा नियन्त्रणका लागि पहल नगरेको स्थानीय किसानहरुको गुनासो छ । खेती किसानीबाटै जीविकोपार्जन गर्दै आएका किसानलाई किराले धानबाली नष्ट गर्दा समस्या भएको स्थानीय किसान राधिका अधिकारीले गुनासो गर्नुभयो । बारामा मात्रै ७० प्रतिशत किसानहरुको धानबाली नष्ट भएको किसानहरुको भनाइ छ । धान भित्र्याउने बेलामा फौजी किराले नोक्सान गरिदिंदा किसानहरु अत्यन्तै चिन्तित भएका छन् । बाँकी रहेको धान किसानहरुले नपाकिनै काट्न थालेका छन् । राज्यका तर्फबाट सरकारले राहत दिन किसानहरुले मागसमेत गरेका छन् । कृषि ज्ञान केन्द्र बाराका बाली विकास अधिकृत राजनारायण साहले हालसम्म चार सय बिघामा लगाएको धान किराले नष्ट गरेको बताउनुभयो । सिम्रौनगढ क्षेत्रमा फौजी किराले अत्याधिक नोक्सान गरेको उहाँको भनाइ छ । तयारी अवस्थामा रहेको धान तत्काल काटेर खेतमा नछोडी सुरक्षित स्थानमा राख्न उहाँले किसानहरुलाई सुझाव दिनुभयो ।
फौजी किराले घाम र पानी सहन नसक्ने भएकाले सम्भव भएसम्म खेतमा पानी लगाउन साहले आग्रह गर्नुभयो । यसैगरी खेतको चारैतिर कुलो जस्तो बनाएर त्यसमा पानी भरी विषादी छर्किन उहाँको सुझाव छ । सम्बन्धित निकायले भविष्यमा आइपर्ने प्रकोपका विषयमा किसानहरुलाई बेला–बेलामा तालिम दिएको भए यो अवस्था आउने थिएन । किसानहरुलाई सम्बधित निकायले समय–समयमा बाली संरक्षणसम्बन्धी तालिम, सल्लाह र सुझाव दिनु आवश्यक छ ।