चितवन राईनोज महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को प्ले अफमा प्रवेश गरेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो । पोखराले दिएको १ सय २८ रनको लक्ष्य चितवनले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा काजल श्रेष्ठले ५१ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै कन्चन श्रेष्ठले २९ तथा कप्तान इन्दु बर्माले २४ रन बनाईन् । पोखराकी अन्जली चन्दले २ विकेट लिईन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । पोखराका लागि कप्तान सिता राना मगरले अर्धशतकीय इनिङस खेलिन् । सिताले ५६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६५ रनको अविजित पाली खेलिन । यस्तै मञ्जु बोगटीले अविजित २४ रन बनाउँदा कविता कुवरले १५ जोडिन् । पोखराका अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । चितवनका कविता गौतम २ र रेखा रावलले १ विकेट हात पारिन् । जितसँगै अपराजित चितवनले ३ खेलमा ६ अंक जोडेको छ । पोखराको भने यो लगातार तेस्रो हार हो । पोखराले अंक जोड्न सकेको छैन । लिगको शीर्ष टिम फाइनलमा पुग्ने छ । यस्तै दोस्रो र तेस्रो टिमले भने फाइनल प्रवेशको लागि एलिमिनेटर खेल खेल्ने छन् ।