काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताउनु भयो । उहाँले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गर्नु भयो । एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उहाँको योजना छ । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि उहाँले संचारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने पनि बताउनु भयो । पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गने अठोट पनि गर्नु भयो ।