Sunday, November 24, 2024
Home > मुख्य समाचार > डिभी खुल्ला भएपछि राहदानी बनाउनेको संख्या बढ्यो

डिभी खुल्ला भएपछि राहदानी बनाउनेको संख्या बढ्यो

सुनसरी । सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) का लागि अमेरिकाले आवेदन खुल्ला गरेको छ । यसपटक डिभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरिएको छ ।

अमेरिकाले यसअघि पनि बारम्बार डिभीमार्फत् विदेशी नागरिकलाई लैजाने गरेको थियो । अमेरिका सरकारले यो वर्षको डिभी फारममा नेपाली पासपोर्ट नम्बर अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा पासपोर्ट बनाउन आउनेहरूको संख्या अत्यधिक बढेको छ । पछिल्लो समय नेपाली युवाहरूमा अमेरिकाको मोह बढेपछि डिभी भर्नेहरूको संख्या बढेसँगै आवश्यकीय कागजातमा पासपोर्ट नम्बर संलग्नता अनिवार्य गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउनेहरूको संख्या ह्वात्तै बढेको हो ।

यस पटक डिभी लोटरीमा सहभागी हुन डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने छ । दशैको समय रहेको कारण सरकारी कार्यालयहरू बन्द रहँदा पासपोर्ट बनाउन आवेदन दिन नपाएका सेवाग्राहीहरूले कार्यालय खुले लगत्तै पासपोर्टका लागि आवेदन दिनेहरूको भीड लागेकोे छ । असोज २३ गतेबाट कार्यालय सुचारू भएको र सोही दिनदेखि असोज मसान्तसम्म सुनसरी जिल्लामा पासपोर्ट बनाउन आउनेहरूको संख्या ३ सय ९० रहेको छ । यसरी पासपोर्ट बनाउन आउनेहरूमा १८ वर्ष पुगेका किशोर किशोरीहरूको संख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । तर, डिभी आवदेन भर्ने केन्द्रहरुमा भने पहिलेको तुलनामा सुनसान रहेको व्यवसायीहरु बताउँछन् ।

गत वर्ष अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा बन्द गर्ने प्रस्ताव लगेका थिए । उनको प्रस्ताव पारित हुन पाएको थिएन । सन् २०२१ मा अमेरिकाले संसारभरिबाट ५५ हजारलाई डिभीबाट अमेरिका लैजाने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *