Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > रामलिलाको विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ घाइते

रामलिलाको विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ घाइते

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा दशैंको अवसरमा आयोजित रामलिलाको विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भिर छ ।

शम्भुनाथ–१ खोक्सरस्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् । गम्भिर घाइते हुनेहरुमा शम्भुनाथ नगरपालिका १ बस्ने खेमबहादुर कार्की, कौशलकुमार यादव, प्रमोद कोइराला तथा रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् । स्थानिय युनिक अस्पतालमा भर्ना भएका चारै जनाको अवस्था नाजुक बन्दै गएपछि आजै बिराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको डा. प्रमोद साहले जानकारी दिनुभयो । यस्तै कुटपिटबाट धिरेन्द्र चौधरी, मो. समिम, रमेशकुमार यादव, अशोक यादव, सरोज कार्की, देवसुन्दर यादव, सन्तोष साह र ओमकान्त साह पनि घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले घटना अनुसन्धानको क्रममा पूजा समितिका अध्यक्ष इनरदेव साह, कोषाध्यक्ष दिलिप चौधरी, सदस्य हिरु चौधरी, पुन्ति यादव र रामचन्द्र साह लगायत पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । रामलिला कार्यक्रम चलिरहेको बेला दुई पक्षबीच झडप सुरु भएको थियो । स्थानियका अनुसार पूजा समितिले रामलिला कार्यक्रम राती १ बजेसम्म चलाउने तथा अर्को पक्षले राती १२ बजेसम्म मात्र चल्न दिने अडान राखेपछि झडप सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *