काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गर्नुभएको छ ।
उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि अघि सार्नु भयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अध्यक्षतात्मक प्रणालीमा अघि बढेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचित हुनुपर्ने उहाँको भनाइ थियो । महासंघका वस्तुगतसंघतर्फका उपाध्यक्ष उमेशलाल प्रधानले पनि महासंघको विधान संशोधन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानमा रहेको प्रावधान महासंघका नेताहरु कसैलाई पनि मान्य नहुने दाबी पनि गर्नुभयो । महासंघका पूर्वउपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि महासंघको विधान संशोधन गर्न माग गर्नुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघलाई मुलुकको आर्थिक क्षेत्रको रुपान्तरण गर्न सक्ने सशक्त र सवल बनाउन पनि महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नु पर्ने पनि बताउनुभयो ।
महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति बनाएको छ । सोही मस्यौदा समितिले बनाएको मस्यौदा आगामी कात्तिक २८ गते बस्ने महासंघको विशेष साधारणसभाले पारित गर्नेछ । महासंघका नेताहरुले विधानमा उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउन विधान मस्यौदा समितिलाई पनि दबाब दिन सुरु गरेका हुन् ।