Sunday, November 24, 2024
Home > मुख्य समाचार > मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु

मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु

बारा । बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ ।

मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले बताए । भारतीय नागरिक लालमुनीका बुबा हुन् । प्रहरीका अनुसार उनीहरू बुधबार बेलुकी करिब ८ बजे एउटै खाल्डोमा डुबेका हुन्  । मदिरा उत्पादन गर्न घरभित्रै बनाइएका २ वटा खाल्डामध्ये पानी रहेको खाल्डामा उनीहरू डुबेका हुन् । एउटा ट्यांकी मदिरा बनाउने गुडले भरिएको छ  । बिजुलीको पोलबाट हुक लगाएर बत्ती बाल्ने गरेको देखिएकाले करेन्ट लागेको पनि हुनसक्ने प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनुभयो । जोगा परिवारले लामो समयदेखि घरमै मदिरा भट्टी सञ्चालन गर्दै आएको थियो । १५ दिनअघि प्रहरीले भट्टी भत्काई कच्चा पदार्थ नष्ट गरे पनि उनीहरूले फेरि मदिरा बनाउन भट्टी र कच्चा पदार्थ तयार गरेको देखिएको छ  । भारतको बिहार राज्यसँग सिमाना जोडिएको यस गाँउमा अबैध रुपमा खुल्ला मदिरा बेच बिखन गर्ने कार्य निकै नैं फस्टाएको स्थानीय ललिता देबीको भनाई छ ।

यसमा कहिले काँहि तातिने प्रहरी अरु बेला कुँनै चाँसो नदिए कै कारण आजको यस्तो दिन देख्नु परेको ललिता देबिको भनाई छ । घटना भए लगत्तै पुगेको प्रहरीले आवश्यक मुचुल्का उठाई बुधवार राती नैं मृतकहरु पाँचै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *