तेह्रथुम । बसन्तपुर–म्याङलुङ सडकखण्ड दिगो नहुँदा कृषिजन्य उत्पादन निर्यात नभएर आजित भएका तेह्रथुमका किसानहरु शितभण्डार निर्माण हुने भएपछि हर्षित भएका छन् । म्याङलुङ नगरपालिका–९ को शाब्लामा प्रदेश–१ कै ठुलो कृषि उपज शितभण्डार निर्माण हुने भएपछि तेह्रथुमका किसानहरु उत्साहित भएका हुन् ।
आफूले उत्पादन गरेको तरकारी भण्डारण गर्ने ठाउँ नहुँदा कृषकहरूले निराश बनेका थिए । उत्पादित कृषिजन्य उपजको निर्यातमा समस्या तथा तरकारी खेती गर्ने मन हुँदाहुँदै पनि भण्डारण गर्ने कृषकहरुको समस्यालाई मध्यनजर गर्दै निर्माण हुन लागेको शितभण्डारणको म्याङलुङ नगरपालिकाका नगर प्रमुख संजयकुमार तुम्बाहाङफेले शिलान्यास गर्नुभएको छ । प्रदेश नं. १ अन्र्तगत भूमि कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा तेह्रथुममा पहिलोपटक ४ करोड ३० लाख रुपैयाँको लागतमा शीतभण्डारको निर्माण हुन लागेको निमित्त प्रमुख प्रशासकिय अधिकृत गोपालकृष्ण लिम्वुले बताउनुभयो । शीतभण्डारले जिल्लाका सयौं किसान खुसी भएका छन्् । किसानहरुको बारीमा उत्पादन भएको तरकारी जिल्लामा खतप नहुँदा बारीमै कुहिएर खेर जाने बाध्यता थियो । जिल्लामा शीतभण्डार नहुँदा उत्पादन भएको तरकारी के गर्ने भन्ने समस्याले पिरोल्ने समस्याको अन्त्य हुने स्थानीय किसान गिरिराज सुवेदीले आशा व्यक्त गर्नुभयो ।
एक हजार टन क्षमता भएको शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको ३ करोड अनुदान र म्याङलुङ नगरपालिका एवं कियाचु कृषि सहकारी संस्थाको १ करोड ३० लाख साझेदारीमा शितभण्डार बन्ने भएको हो । भण्डार स्थापनासँगै अदुवा र अदुवाकोे बीउका साथै आलु, टमाटर, बन्दा, सिमीलगायत अन्य कृषिउपज पनि सहजै भण्डारण गर्न सकिने र कृषि पेसामा लागेका बेरोजगार युवा पनि लाभान्वित हुने सचिव कृष्ण चोङवाङले बताउनुभयो ।
तेह्रथुमलाई मात्र नभएर छिमेकी जिल्लाका किसानहरुलाई समेत राहत दिने उद्देस्यले निर्माण गर्न लागिएकोे शितभण्डार २०७७ वैशाखभित्र सम्पन्न गर्ने निर्माण आयोजनाको लक्ष्य छ ।