काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भईसकेको दावी गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दशैंमा सामान किनमेल गर्न समेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । वडादशैंको अवसर पारेर पार्टीले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भईरहेको दावी पनि गर्नु भयो । सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाउनु भयो । कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । कांग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिनु भयो । नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने पनि उहाँको चेतावनी छ ।
नेता थापाले सरकारले लोकतन्त्र विरोधी गतिविधिलाई अघि बढाएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।