प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौंता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बसेको सो समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको काममा तीव्रता दिन पनि आफूहरुलाई सचेत गराउनुभएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले जानकारी दिनुभयो । एक महिना अघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ–आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौंता गर्नुभएको थियो । त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समिक्षा गरिएको हो ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको थियो भने त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ–आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।