धरान । धरानमा भएको पहिलो प्रदेश स्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि एन्फा एकेडेमी धरानले जितेको छ ।
फाइनलमा मोरङको एम्ब्रीय एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै एन्फा एकेडेमी धरानले उपाधि जितेको हो । प्रतियोगितामा एक नं. प्रदेशका १० वटा फुटबल एकेडेमीले सहभागिता जनाएका थिए । प्रतिष्पर्धात्मक फाइनल खेलमा एन्फाका आयुष गुरुङले गोल गरेका थिए । एम्ब्रीय एकेडेमीले गोल गर्ने केही सुन्दर मौका गुमाएको थियो । फाइनल खेलको म्यान अफ द म्याच एम्ब्रीय एकेडेमीका सन्देश सुब्बा घोषित हुदै नगद रु २ हजार पुरस्कार प्राप्त गरे । एन्फा एकेडेमीले उपाधीसँगै ५० हजार नगद पुरस्कार जितेको छ । उपविजेता एम्ब्रीय एकेडेमीले नगद २५ हजार जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एन्फा एकेडेमीका आयुष गुरुङले नगद ३ हजार,ट्रफी र मेडल प्राप्त गरे । त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट फरवार्ड एम्ब्रीयका कोमल थापा मगर घोषित भए । प्रतियोगितामा एन्फा एकेडेमीका युनिस बुढाथोकी उत्कृष्ट डिफेन्स, असिमजंग कार्की उत्कृष्ट मिडफिल्डर र कृषल मोक्तान उत्कृष्ट गोल किपर घोषित भए । उनीहरुलाई जनही नगद ३ हजार पुरस्कार दिइएको थियो । प्रतियोगितामा एन्फा एकेडेमीका आयुष गुरुङ र एम्ब्रीयका कोमल थापा मगरले उच्च गोलकर्ताको उपाधी जिते । उनीहरुले १५÷१५ सय पुरस्कार प्राप्त गरे । उनीहरुले समान ५÷५ गोल गरेका थिए । त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक एन्फा एकेडेमीका सुमन श्रेष्ठ घोषित भए । उनलाई नगद ५ हजार प्रदान गरिएको थियो ।