काठमाडौं । संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।
सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीका टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाटै बञ्चित भए ् । मुल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै हटाएपछि सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन् । राष्ट्रप्रमुख, सरकार प्रमुख , उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको टुंडिखेल भित्र आयोजित विशेष कार्यक्रममा सर्वसाधरणले प्रवेश त पाएनन् नै सुरक्षाकर्मीले पर्खालमा बसेर हेर्न पनि दिएनन् ।
संविधानमा सबैको अपनत्व महसुस गराउनका लागि सबैको अनिवार्य सहभागीताको कुरा सरकारले जोड जोडले गरेको भएपनि सर्वसाधरण लाई मुख्य कार्यक्रम हेर्नबाट रोक लगाएपछि टुँडिखेल पुगेर कार्यक्रम हेर्न नपाएका सर्वसाधरण सरकारप्रति रुष्ट देखिएका थिए । संविधान दिवस मुलुकभर मनाईएको छ । संघीय सरकारले मुल कार्यक्रम राजधानीको टुंडिखेलमा आयोजना गरेको थियो । त्यसैगरी प्रत्येक प्रदेशमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखहरुले सम्बोधन पनि गरेका छन् ।