काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।
संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले युवा पुस्ता छिप्पीनु अघि नै विकासको तीव्र गतिको दौड पूरा हुने कुरामा विश्वास दिलाउनु भयो । उहाँले जनताका सपना साकार पार्न सरकार दृढतापूर्वक लागि परेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्ष नहुन पनि आह्वान गर्नु भयो । उहाँले संविधान विरोधी गतिविधिमा संलग्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा आउन ढिलाई नगर्न पुनः आग्रह गर्नु भयो । प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएको उल्लेख गर्दै राजनीतिको नाममा शान्ति, सुरक्षा र मुलुकको राष्ट्रिय एकतालाई खल्बल्याउने खालका संविधान र कानुन विपरितका गतिविधिलाई सरकारले कडाईका साथ रोक्ने चेतावनी पनि दिनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले हालसम्म हासिल गरेको उपलब्धिहरुको चर्चा गर्दै समृद्ध, सुःखी र सभ्य मुलुक निर्माण हुने आधार तय गरिएको पनि बताउनुभयो ।