काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको छानबिन नगरी कारबाही प्रक्रिया अघि बढाउन नसकिने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कारबाही गर्न माग गरिरहेका बेला मन्त्री बास्कोटाले छानबिन गरेर मात्रै सो घटनामा संलग्नमाथि कार्वाही प्रक्रिया अघि बढाउने प्रष्टयाउनुभएको हो । आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनले संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले छानवीन नै नगरी, दोषी नठहराई, घटनामा कसको संलग्नता छ ? भन्ने पुष्टि नभई आरोपितमाथि कार्वाही गर्न नमिल्ने पनि स्पष्ट पार्नु भयो । हाँत भाँचिएको हो भने पनि कानुनबमोजिम कारबाही गर्न कसले भाँचेको हो ? भनेर अनुसन्धान गर्नुपर्ने मन्त्री बास्कोटाको भनाइ छ । मन्त्री बास्कोटाले अरुले आरोपित गरेको आधारमा कसैमाथि पनि कार्वाही गर्न नमिल्ने पनि पटकपटक दोहोर्याउनुभयो । प्रमुख प्रतिपक्ष दल काँग्रेसले पार्टीका बाँके सभापति किरण कोइरालासहितका नेता, कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले हमला गरी घाइते बनाएको भन्दै तत्काल कार्वाही गर्न माग गर्दै आएको छ ।