सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दाबी गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष दाहालले छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध गर्न मिल्ने अवस्था नरहेको पनि अध्यक्ष दाहालको भनाइ छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दिशामा पनि संवैधानिक प्रश्न नउठ्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले जनताले अपेक्षाअनुसार काम सरकारले गर्न नसकेको पनि स्वीकार गर्नुभयो ।
अध्यक्ष दाहालले चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’ परियोजना नेपालको हितमा रहेकाले त्यसमा नेपाल सरकारले साथ दिएको पनि स्पष्ट पार्नुभयो ।