Saturday, November 23, 2024
Home > मुख्य समाचार > विराटनगरमा निकालियो भीमसेन जात्रा

विराटनगरमा निकालियो भीमसेन जात्रा

विराटनगर । विराटनगरमा आज धार्मिक आस्थासंग जोडिएको भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले यो जात्रा निकाल्ने गरेका छन ।

विराटनगरको संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मुर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । नेवार समुदायका मानिसहरुसहित अन्य समुदायका ब्यक्तिहरुको समेत उल्लेख्य सहभागिता रहेको जात्रामा धिमेबाजा र लाखेनाचसमेत झांकीका रुपमा निकालिएको थियो ।
नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् । यो समुदायको बाहुल्य रहेको देशका विभिन्न शहरहरुमा यो जात्रा निकाल्ने गरिएको छ । शान्ति र समृद्धिको कामना गर्दै निकालिने भीमसेन जात्रा काठमाडौं, दोलखा, भोजपुर, धनकुटालगायतका सहरसहित नेवार समुदायको बसोबास रहेका अन्य क्षेत्रहरुमा समेत निकालिने गरेको छ । पछिल्लो समय विराटनगरमा समेत यो जात्रा निकाल्न थालिएको छ । शान्ति र समृद्धिको कामना सहित यो जात्रा निकाल्ने गरिएको श्रद्धालुको भनाई छ ।

काठमाण्डौस्थित एक दातृ संस्थाले विराटनगरको भीमसेन मन्दिरलाई उपलब्ध गराएको सुनको जलप लगाइएको भीमसेनको मुर्ति संसारी माई मन्दिरमा स्थापना गरिएयता भिमसेन जात्रा निकाल्न थालिएको हो । विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको बसोबास रहेको विराटनगरमा मनाईने हरेक पर्व र जात्राहरुलाई अन्य धर्मावलम्बीहरुले समेत उत्तिकै महत्व दिने गरेका छन र एक अर्काको पर्व र जात्रामा रमाउने गरेका छन । यसले सामाजिक एकतालाई थप बलियो बनाउन मदत मिल्ने गरेको छ । पछिल्लो समय विराटनगरमा समेत निकाल्न थालिएको भिमसेन जात्राले नेवार समुदायको धार्मिक संस्कृतिको संरक्षण गर्नुका साथै सामाजिक अन्तरघुलनमा समेत सघाउ पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *