विराटनगर । नेपाली कांग्रेस १ नम्बर प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार र अनियमितताको विषयमा बोल्ने सांसदलाई प्रमाण मागेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै कार्कीले मुख्यमन्त्रीले डेढ घन्टामा छानबिन गर्छु भएको भए पनि अहिलेसम्म भ्रष्टाचार र कमिसनको खेती मौलाउँदै गएको दाबी गर्नुभयो । प्रदेशसभामा सांसदहरुले निराशाजनक अभिव्यक्ति दिएको भन्दै मुख्यमन्त्रीले सम्बोधनका क्रममा तत्थ्यसहित बोल्न आग्रह गरेको विषयमा टिप्पणी गर्दै सचेतक कार्कीले भने सांसदले जनताको गुनासो बोल्ने तर प्रमाण सरकारले खोज्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयका सचिवले विज्ञापन दिँदा पत्रकारसँगै कमिसन मागेको, कृषि ज्ञान केन्द्र झापाले बाँडेको पैसामा हिनामिना भएको, मुख्यमन्त्री कपमा भएको अनियमितताको छानबिन नभएन, बैजनाथपुर क्रिकेट रंगशालामा भएको अनियमितताको विषयमा पनि छानविन किन नभएको भनि सरकारलाई प्रश्न गर्नुभयो । यस्तै सांसद बिमल कार्कीले सरकारले दिएको अनुदान खाएर बसेको कृषि सामग्री कम्पनी लिमिटेड र नेशनल टे«डिङ कर्पोरेसनले मल उपलब्ध नगराएको भन्दै आलोचना गर्नुभयो । अन्नको भण्डार मानिने झापा, मोरङ, सुनसरी र उदयपुरमा ३० हजार मेट्रिक टन मल चाहिने ठाउँमा ७ हजार कोटा छुट्याएको र त्यो पनि अझै नआएको भन्दै आपत्ति जनाउनु भयो ।
यस्तै सांसद कूलप्रसाद साम्बा कुशलले उर्लाबारी नगरपालिकामा प्रमुख र उपप्रमुखबीच भएको विवादले जनताको सेवा ठप्प भएको भन्दै त्यसमा हस्तक्षेप गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।