Friday, November 22, 2024
Home > मुख्य समाचार > राज्यव्यवस्था समितिमा भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव

राज्यव्यवस्था समितिमा भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गर्नु भएको हो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने बताउनुभयो । सांसद भुसालले दुई मुलुकबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देबेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाउनुभयो । उहाँले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामिप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने उहाँको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *