फ्रान्समा २ महिनाको अवधिमामात्र गर्मीकै कारण झण्डै १५ सय मानिसले ज्यान गुमाएका छन् । उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्रीले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरका व्यक्ति रहेको बताउनु भएको छ । समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको उहाँले बताउनुभयो । गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो । गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो । गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२.६ डिग्री सेल्सियस पुगेको थियो । गर्मीकै कारण सर्वसाधारणको सुविधाका लागि ठूला पार्क र पौडी खेल्नका लागि निर्माण गरिएका पोखरी कतिपय शहरमा खुला राखिएको थियो । ब्रिटेन, बेल्जियम, जर्मन, लक्जम्बर्ग र नेदरल्याणड लगायतका मुलुकले पनि हालसम्मकै सर्वाधिक गर्मी समय रेकर्ड गरेको बताएका छन । फ्रान्सबाहेक अन्य मुलुकले भने गर्मीका कारण भएको मृत्युको तथ्याङ सार्वजनिक गरेका छैनन् ।