चितवन । चितवनको भरतपुर अस्पतालमा डेंगु लगायतका ज्वरोका विरामीको चाप एकाएक बढेपछि अस्पताल विरामी थेग्न नसक्ने अवस्था आइलागेको छ ।
एक हजार ९ सय २२ बिरामी अस्पताल आएकामा ९ सय भन्दा बढी मेडिकल विभागका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिनुभयो । अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । नयाँ ९ सय र पुराना ३ सय भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उहाँले बताउनुभयो । बाँकी रहेका करीब १०० लाई आज पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उहाँको भनाई थियो । सामान्य समयमा ४ सय ५० हाराहारी नयाँ र १ सय ५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएपछि विरामीको चाप धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले खचाखत छन् । करीब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ । जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४ सय जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २ सय ६ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गुकै कारण दुई जनाको मृत्यु भइसकेको छ ।