Friday, November 22, 2024
Home > मुख्य समाचार > १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता छैन ः नेता नेपाल

१२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता छैन ः नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गर्नु भएको छ ।
नेकपाका विदेश विभाग प्रमुख समेत रहनु भएका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाईको कडा प्रतिवाद पनि गर्नुभएको छ । लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आईतबार काठमाडौंमा विमोचन गर्दै उहाँले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको स्पष्ट पार्नु भयो । सो समझदारीका लागि तत्कालीन माओवादी बिद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाललाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको पनि नेता नेपालको भनाई छ । नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीका लागि दिल्ली आएको पनि खुलासा गर्नु भयो । काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताउनु भयो । सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालको असन्तष्टि पनि छ । नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, काँग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र बिद्रोही माओवादीको तर्फबाट डा. बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि बताउनुभयो ।
वरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन बिद्रोही माओवादीसँग दिल्लीमा १२ बूँदे समझदारी नभएको यस अघि पनि बताउनु भएको थियो । ट्वाईलेट भित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *