Friday, November 22, 2024
Home > मुख्य समाचार > सामुदायिक विद्यालयको गुणस्तर झनै खस्कदै

सामुदायिक विद्यालयको गुणस्तर झनै खस्कदै

तेह्रथुम । राज्यले शिक्षामा ठूलो लगानी गरे पनि प्रतिफल भने सन्तोषजक छैन । तेह्रथुमका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या हरेक वर्ष घट्दै गएको छ । सम्बन्धित निकाय जिम्मेवार नभएपछि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर दिनानुदिन खस्कदै गएको पाइन्छ । शिक्षा क्षेत्रमा अर्बौंै लगानी भए पनि नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा राज्यको एक रुपैयाँ पनि लगानी नभएको निजी विद्यालय नै अग्रपंक्तिमा रहेको देखिन्छ ।

जनप्रनिधी तथा सरकारी शिक्षकहरुको छोराछोरी कोही पनि सामुदायिक बिद्यालय पढ्दैनन् । सामुदायिक बिद्यालय प्रति सरकारी सेवा सुविधा लिने व्यक्ति नै उदासिन छ । शिक्षकलाई आफै प्रति पनि विश्वास छैन कि मेलै पढाउँदै आएको बिद्यालयमा गुणस्तरिय शिक्षा छ भनेर । तेह्रथुमका जननिर्वाचित प्रतिनिधि र राष्ट्रसेवकका छोराछोरी शतप्रतिशत सामुदायिक विद्यालयमा बाहिर छन् । आफै सरकारी विद्यालयमा पढाउने शिक्षकले समेत छोराछोरीलाई निजी विद्यालयमा पढाएपछि बिपन्न तथा पढाई शुल्क तिर्न नसक्नेहरुको मात्र सामुदायिक बिद्यालय हो भन्ने सोचाईको बिकास भएको छ । सामुदायिक बिद्यालयको गुणस्तर सुधार्नका निम्ती सम्बन्धीत निकायको अनुगमन, शिक्षक साथै अभिभावक पनि जिम्मेवार हुनुपर्ने शिक्षा विकास तथा समन्वयन ईकाई समितिका प्रमुख लिलानाथ पोख्रेलले बताउनुभयो । सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने तथा ईन्टरनेट चलाएर बस्ने शिक्षकहरुको प्रवृत्तीले पनि सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु कमजोर बन्दै गएका हुन् । सामुदायिक विद्यालयमा शिक्षकको अटेरीका कारण कक्षा कोठामा नियम उल्लङ्घन गर्ने प्रवृत्तिले शैक्षिक गुणस्तर बढ्नुभन्दा झन् खस्कदै जान थालेको अभिभावक अर्जुन काफ्लेले बताउनुभयो । सन् २०३० सम्ममा राष्ट्रिय योजना आयोगले आफ्नो दिगो विकासको लक्ष्यमा गुणात्मक शिक्षा सुनिश्चित गर्ने उल्लेख गरेको छ । दीगो बिकासको लक्ष्यमा पुग्नका निम्ती सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर वृद्धिका निम्ती म्याङलुङ नगरपालिकाले बिद्युतिय हाजिरी,अनुमगन साथै अंग्रेजी माध्यमलाई जोड दिएको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताउनुभयो ।

छ वटा स्थानीय तह रहेको तेह्रथुममा हरेक आर्थिक वर्षमा करिब १ अर्ब शिक्षा क्षेत्रमा बजेट बिनियोजन हुँदै आएको छ । २ सय २६ वटा बिद्यालय संचालनमा रहेको तेह्रथुममा १३ सय २३ जना शिक्षकको दरबन्दी छ । निजी बिद्यालय भने २६ वटामात्रै सञ्चालनमा छन् । तर विद्यार्थीहरुको कुल संख्याको २० प्रतिशत मात्र सामुदायिक बिद्यालयमा अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *