विराटनगर । भन्सार राजस्व तिरेर माछा आयात गर्दा पनि विभिन्न ठाउँमा चेकजाँच गरेर प्रहरीले अनावश्यक दुःख दिने गरेको माछा व्यवसायीहरुले गुनासो गरेका छन् ।
पैसा नदिएकै कारण भन्सार तिरेको विल देखाउँदा पनि भारतबाट आयात गरेको माछा प्रहरीले सडकमा फ्याँकिदिएको व्यवसायीले आरोप लगाएका छन् । विराटनगर भन्सार कार्यालयमा साढे ३६ हजार राजस्व तिरेर माछा ल्याउँदै गर्दा प्रहरीले कलेज रोडमा रोकेर सडकभरि फ्याकिदिएको उनीहरुको भनाइ छ । आफ्नो साढे ३ लाखको माछा ३५ क्यारेटमा भन्सार तिरेर ल्याएको व्यवसायी निलम सहनीले बताउनुभयो । प्रहरीलाई विल देखाउँदा देखाउँदै रोकेर दुःख दिएको उहाँको भनाइ छ । उहाँले आफूहरुको गल्ती भए कारबाही भोग्न तयारी रहेको बताउनुभयो । अर्का व्यवसायी दिपेश सहनी र सीता सहनीले पनि बारम्बर प्रहरीले दुःख दिइरहेको गुनासो पोख्नुभयो । भन्सार काटेर आएको माछा दुई ठाउँमा सशस्त्र प्रहरीले चेक गरेर छोडे पनि कलेज रोडमा फेरि चेक गरेर राजस्व बिल देखाउँदा देखाउँदै प्रहरीले सडकमा माछा फ्याकिदिएको गुनासो उहाँहरुको दाबी छ । प्रहरी निरीक्षक विज्ञान बस्नेतले भने सुरुमा बिल नदेखाएको र पछिबाट बिल देखाएको भन्दै घटनाका विषयमा अनुसन्धान गरिरहेको बताउनुभएको छ ।
माछा व्यवसायीहरुले प्रहरी ज्यादती नरोकिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । यता मोरङ प्र्रहरीले भने भारतको जोवनीबाट अवैध रूपमा भन्सार छलि गरी माछा ल्याउदै गरेको विशेष सूचनाको आधारमा विराटनगर १२ रोडशेषमा भन्सार तिरेको विल भरपाई नभएको ठेला रोकी चेकजाँच गर्ने क्रममा केही मानिसहरू आई हुल हुज्जत गरेको बताएको छ । प्रहरीले उक्त चेकजाँचको क्रममा नियन्त्रणमा लिईएको अन्दाजी २ सय केजी माछा विराटनगर भन्सार कार्यालय रानीमा आवश्यक कारवाहीको लागि पठाईएको बताएको छ ।