कपिलवस्तु । भारतले बनाएको बजहा बाँधले कपिलबस्तुस्थित मायादेवी गाँउपालिकाको हजारौ बिगहा खेतीयोग्य जमिन डुबानमा परेको छ ।
पछिल्लो साताको बर्षाका कारण बजहा तालमा पानी भरिँदा नेपाल तर्फको मायादेवी गाँउपालिका वडा नम्बर ४ पिपराको तुलसीडिहवा गाउँ नजिकको धानखेती डुबानमा परेको हो । भारतीय पक्षले सिंचाईका लागि ५ सय हेक्टरमा फैलिएको बजहा तालमा तटबन्ध सहितका ढोका राखेको थियो । भारतले बनाएको २७ ढोके बाँधको ढोकाहरु नखोल्दा नेपाली भू–भाग डुबानमा परेको हो । आफुहरुले बर्षौ देखि डुबानको समस्या भोग्दै आए पनि कहि कतै समस्या समाधान हुन नसकेपछि बाँध कुर्ने कामदारलाई धान चामल दिएर समय समयमा बाँधको ढोका खोलाउने गरेको स्थानीयले बताए । केहि बर्षअघि भारतको बजहा, सिसवा, मझौली र महली सागर तालमा एकतर्फि रुपमा लगाईएको बाँधकै कारण नेपाल तर्फका मायादेवी गाँउपालिका र यशोधरा गाँउपालिकाका बिभिन्न स्थानमा रहेको धान खेती डुबानमा पर्दै आएका छ । सिँचाईका लागि पानी नपाउने र बर्षाका बेला डुबान भोग्नु पर्ने समस्याले स्थानीय कृषक पीडित छन् ।