चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने धरौटीमा रिहा भएका छन ।
जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ । अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश छ । साथै उनले यो मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रम चलाउने पाउने छैनन् । लामिछाने सञ्चालक रहेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।