विराटनगर । मानवअधिकार मैत्री पत्रकारिता आजको आवश्यकता रहेकोमा आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजना र पत्रकार महासंघ मोरङको समन्वयमा भएको मानवअधिकार र पत्रकारिता सम्बन्धी तालिम कार्यक्रममा बोल्दै सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक डाक्टर टिकाराम पोखरेलले मानव अधिकार मैत्री पत्रकारिता आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले पनि मानवअधिकारका धेरै बिषयबस्तु गौण हुने गरेको बताउदै बिषयबस्तुलाई मानव अधिकारसँग जोडेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकारका बिषयबस्तुका बारेमा पत्रकारहरुलाई विस्तृत जानकारी मिलोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई थियो । यस्तै कार्यक्रममा मानव अधिकार उल्लंघन र अपराध बीचको फरक र मानव अधिकार मैत्री पत्रकारिता बिषयमा आयोगका उपनिर्देशक श्यामबाबु काफ्लेले प्रकाश पार्नुभएको थियो । यस्तै राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशीले पत्रकारिता र सुरक्षा बिषयमा धारणा राख्नुभएको थियो । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले संचार क्षेत्र र राष्ट्रिय मानवअधिकार आयोगका बिषयमा पत्रकारले खेल्ने भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो ।