विराटनगर । विराटनगरस्थित खानेपानी संस्थानले वितरण गरेको पानी विगत ४ वर्षदेखि आइरनयुक्त, बालुवा र लेदो मिसिएको गुनासो बढेको छ । विराटनगरका अधिकांश उपभोक्ताहरु कतिपयले बाध्यताले पानीको प्रयोग गरेका छन् भने कतिपयले प्रयोग नै नगरी मासिक महसुल तिरिरहेका गुनासो गरेपछि नेपाली कांग्रेस मोरङले खानेपानी संस्थानको ध्यानाकर्षण गरेको छ ।
विराटनगरका अधिकांश वडामा खानेपानीको समस्या भएको छ । अधिकांश वडामा पानी नआउने, आए पनि धमिलो र खान अयोग्य पानी आएको नगरवासीको गुनासो छ । नगरवासीको गुनासो बढेपछि नेपाली कांग्रेस मोरङले जतिसक्दो खानयोग्य पानी वितरण गर्न र पानी नै नआएका धाराको शुल्क नलिन खानेपानी संस्थान विराटनगरका कार्यालय प्रमुख शैलेन्द्रकुमार साहको ध्यानाकर्षण गराएको हो । पानीजस्तो संवेदनशील विषयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने मोरङ कांग्रेसको माग छ । वडा नम्बर ११ पिचराका रामसुन्दर राजवंशी नियमित महसुल तिरे पनि धाराको पानी खानुहुन्न । खानेपानीका लागि भनेर जोडेको धाराबाट फोहोर पानी आएपछि राजवंशी मात्र होइन पिचराका स्थानीयले शुल्क तिरेको पानी तरकारी र गाईबस्तुका लागि मात्रै प्रयोग गर्दै आइरहेका छन् । पानीमा लेदो, बालुवा र फोहोर आउने गरेको विषयमा खानेपानी संस्थानलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएको उपभोक्ता राजवंशीको भनाइ छ ।
तर खानेपानी संस्थान विराटनगर वितरण कार्यालयका प्रमुख शैलेन्द्रकुमार साहले भने पानीमा आइरन देखिएको स्वीकार गर्नुभयो । उहाँले अहिले विकास निर्माणका कामहरु भइरहेकाले विभिन्न ठाउँमा खानेपानीका पाइपहरु फुटेकाले पानीमा लेदो र बालुवा गइरहेको स्वीकार गर्नुभयो । उहाँले जाइकासँग कुराकानी भैरहेको बताउँदै विराटनगर महानगरपालिका र खानेपानी संस्थानले संयुक्त रुपमा दसैं अगाडि डीपीआर तयार गरेर खानेपानीको व्यवस्थापनका लागि काम चाँडोभन्दा चाँडो अगाडि बढाउने बताउनुभयो । हाल खानेपानी संस्थान विराटनगरले साढे ११ हजार घरधुरीमा दैनिक ९० लाखदेखि १ करोड लिटर खानेपानी उपलब्ध गराउँदै आएको छ । ४ वर्षदेखि खानेपानी संस्थाले शुद्ध खानेपानीका लागि पहल गरेको भनिए पनि काममा नभएर कुरामा मात्र सीमित भएको छ । यसैले शुद्ध खानेपानीको दिगो व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल तदारुकता देखाउनु जरुरी छ ।