काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गर्नुभएको छ ।
मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा आज राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक हत्या प्रतिहत्याका दोषिलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताउनुभएको हो । मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भए पनि आजसम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोली पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत उहाँले गर्नुभयो । नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दै उहाँले ठुला ठुला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिलेसम्म सफल हुन नसकेको बताउनुभयो । मदन भण्डारी हत्या, उहाँका चालकको हत्या अनि दरबारहत्याकाण्ड भइसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको तर्फ गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामूहिक मेहनत नभए दुई नेता असफल हुने खतरातर्फ जान सक्ने संकेत गर्नुभयो । पार्टी सुदृढ गर्दै सरकारलाई सफल पार्ने र जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै उहाँले त्यसले सिंगो मुलुकको प्रणाली नै खतरामा पर्ने संकेत गर्नुभयो ।
उहाँले सबैखाले पूर्वाग्रह र संकिर्णतामाथि बिजय हासिल गर्दै देश काल परिस्थितिको माग अनुसार मिल्न सक्ने जति सबै मिलाएर अघि बढ्ने संकल्प गर्नुपर्ने र यही पाठ नै मदन भण्डारीबाट सिक्नुपर्ने बताउनुभयो ।