काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानमा ‘सुई आतंक’ मच्चाउने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले काठमाडौंको स्वयम्भु र सोह्रखुट्टे एरियामा युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँडने रामेछापका सन्तोष कार्कीलाई महाराजगंजबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । पीडित युवतीहरुले दिएको उजुरीको आधारमा निज कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनु भयो । काठमाडौंको महाराजगंजमा आफ्नै दाजुसँग मिलेर रेष्टुरेन्ट संचालन गर्दै आएका कार्कीले बेलुका नौ बजेतिर आफ्नो रेष्टुरेन्टबाट फर्कने क्रममा स्वयम्भु र सोह्रखुट्टे क्षेत्रमा एकान्तमा भेटिएका महिलाहरुमाथि काठको छेस्को वा धलौटको काटीले घोच्ने गरेको उनको प्रारम्भिक बयानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ । नैकाप बस्दै आएका निज कार्कीले प्रयोग गर्दै आएको बा ४७ प १३३१ नम्बरको मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ ।
केही दिन अघि देखि विभिन्न समाचार माध्याम र सामाजिक संजालमा समेत यो घटनाले सनीसनी मच्चाएपछि प्रहरीले पीडित युवतीको उजुरीको आधारमा खोजतलासको कामलाई तीव्रता दिएको थियो । सो घटनामा हालसम्म कार्कीको मात्रै संलग्नता रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।