विराटनगर । प्रदेश १ का सुनसरी र मोरङमा डेंगु फैलिएपछि प्रदेश १ सरकारले ७ दिनभित्र नियन्त्रण गर्न सम्बन्धीत सरोकारवालालाई निर्देशन दिएको छ ।
विशेषत प्रदेश १ को सुनसरी जिल्लामा डेगु प्रकोपको रुपमा फैलिएको र अन्य जिल्लामा पनि डेगुका संक्रमित फेला परेपछि मंगलबार प्रदेश स्तरीय सरोकारवालाहरुको बैठकमा बोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले नियन्त्रण गर्न निर्देशन दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ सरकार डेंगुलाई पूर्णरुपमा नियन्त्रण गर्न कटिबद्ध भएको बताउदै स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर १ का निर्देशक भोगेन्द्र डोटेलको नेतृत्वमा झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर डेंगु नियन्त्रण गरिने बताउनुभयो । उहाले दैनिक भएको प्रगति प्रमुख जिल्ला अधिकारी र प्रमुख सचिवलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । उहाँले सचेतनाका कार्यक्रमलाई व्यापक रुपमा अगाडि बढाउन र बजेट व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने पनि स्पष्ट पार्नुभयो । यस्तै कार्यक्रममा बोल्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक उपनिर्देशक डाक्टर विकास साहले अहिलेसम्म ४ सय जनामा डेंगुको संक्रमण भेटिएको जानकारी दिदै दैनिक रुपमा ३० जना डेंगु संक्रमित प्रतिष्ठानमा आउने गरेको बताउनु भयो । यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर १ का निर्देशक भोगेन्द्र डोटेलले सचेतनाका कार्यक्रम र लार्भा पहिचान र नष्ट गर्ने काम भएको भएपनि घर भित्र हुने डेगु नियन्त्रण चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले धरानमा पानीको अभावमा विभिन्न भाडाहरुमा पानी संचित गर्नाले त्यसमा डेंगु भेटिएको पनि जानकारी गराउनुभयो । विशेष गरी डेगु सार्ने लामखुट्टे सफा र जमेको पानीमा रहेन गर्छ र यसले दिउसो मात्र टोक्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै मोरङ र विराटनगर महानगरपालिकाभित्र पनि सचेतनाका साथै बुधबारदेखि नै लार्भा पहिचान र नष्ट गर्ने अभियान संचालन गरिएको पनि जानकारी दिइएको थियो ।