Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > लोकसेवा आयोगको विज्ञापन र संविधान कार्यान्वयनमा सरकारको नियतप्रति शंका व्यक्त

लोकसेवा आयोगको विज्ञापन र संविधान कार्यान्वयनमा सरकारको नियतप्रति शंका व्यक्त

काठमाडौं । सत्तारुढ दलकै सांसदले लोकसेवा आयोगको विज्ञापन र संविधान कार्यान्वयनमा सरकारको नियतप्रति शंका व्यक्त गरेका छन् ।

लोकसेवा आयोगको विज्ञापन समानुपातिक समावेशी नभएको भन्दै संसदीय समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि सडक र सदनमा निर्णयको पक्ष र विपक्षमा मत आईरहेका बेला सत्तापक्ष कै सांसदले सरकारको नियत प्रति शंका व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अञ्जना बिशंखेले संविधानले गरेको व्यवस्था अनुसार लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा निर्णयमा पुग्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । नेकपा समानुपातिक समावेशीताा विरोधी पार्टी नभएको भन्दै उहाँले सडकमा फैलाईएको भ्रमलाई तत्काल र्निमुल पार्न सरकारसंग माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कडेंलले भ्रष्टाचार नगर्ने र गर्दिन भन्ने सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा ठुलो भ्रष्टाचार भएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले वाईडवडी विमान खरिद लगायका मुद्धा अख्तियारमा रहेकै अवस्थामा वाईडवडी जहाजले जुलाई ४ तारिक देखि जापानका लागि उडान भर्ने तयारी भईरहेका बेला विभिन्न बहानामा उडान स्थगित गरिएको र यसबाट प्रत्येक दिन डेढ करोडको घाटा भईरहेको बताउनुभयो । प्रधानमन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेयता नेपाल वायु सेवा निगमले साढे २ अर्बको घाटा व्यहोरिसकेको उल्लेख गर्नुभयो । टिकट बुकिङ प्रणालीका लागि आवेदन दिएका कम्पनीलाई नदिई विना टेण्डर सेवा नामक कम्पनीलाई टिकट बुकिङको जिम्मेवारी दिने काम भएको र यसमा ५ करोडको घोटाला भएको दाबी उहाँले गर्नुभयो ।  सांसद मिनबहादुर विश्वकर्माले संविधानको कार्यान्वयनप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । दलित र जनजातिका पक्षमा नेपाली कांग्रेसले गरेका कामहरुप्रति पुर्वाग्रह राखी सरकारले खारेज गर्दै गएको आरोप उहाँले लगाउनुभयो ।

सांसद प्रमोद शाहले राज्यसत्ता परिर्वतनका लागि लडेकाहरु नै परिर्वतनलाई स्थापित गराउनबाटपछि हटेको भन्दै संविधानको कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *