Friday, November 22, 2024
Home > मुख्य समाचार > नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता÷हल्दियासम्म संचालन गर्ने सहमति

नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता÷हल्दियासम्म संचालन गर्ने सहमति

काठमाडौं । नेपाल–भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता÷हल्दियासम्म संचालन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

दुई मुलुकबीचको रेल सेवा सम्झौता अन्तरगतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगंज र विराटनगरसम्म रेल संचालनका लागि सहमति जनाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट पारेको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्ष भित्र भारतको कोलकत्तासम्म नेपालको रेल संचालन हुने गरी सो सहमतिलाई अघि बढाउने योजना पनि सार्वजनिक गर्नुभयो । बैठकमा नेपालको वीरगंज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाईन विस्तार गर्न भारतले सहमति पनि जनाएको थियो । दुई मुलुकबीच पारवहन सन्धि अनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति पनि गरिएको छ । विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–इनरुवा–जयनगर रुटमा रेल सेवा संचालनमा आएपछि सो रुटमा कार्गाे ढुवानी गर्न पनि दुई मुलुकबीच सहमति जुटेको छ । सचिव अधिकारीले यो सहमतिसँगै दुई मुलुकबीचको माल सामान ढुवानीमा देखिदै आएको समस्या समाधान भएर जाने विश्वास पनि व्यक्त गर्नु भयो । नेपाली व्यापारीहरुले विगतदेखि उठाउँदै आएको सो समस्यालाई पनि भारत सरकारले समाधान गर्ने सहमति जनाएको सचिव अधिकारीले बताउनु भयो ।

बैठकमा दुई मुलुकबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिनाभित्र नेपालमा बस्ने सहमति पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *