चितवन । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार मेरुदण्डका रुपमा रहने बताउनुभएको छ ।
रंगशालाको आज निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट समेत निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताउनुभयो ।रंगशाला निर्माणका क्रममा सरकारको समेत साथ, सहयोग र लगानी रहने मन्त्री विश्वकर्माले विश्वास दिलाउनुभयो । राष्ट्रिय गौरवका आयोजना भएकोले कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुने मन्त्री विश्वकर्माले बताउनुभयो । रंगशाला निर्माणका लागि अहिले के भयो के भएन भन्दा पनि भोलि आउने चुनौतीलाई समाधान गरेर छिटोभन्दा छिटो चितवनमा रंगशाला बनाउन सबैको सकारात्मक दृष्टिकोण भएको विश्वकर्माले बताउनुभयो । सरकारको मात्रै एकल प्रयासबाट ठूला संरचना बनाउन सम्भव नभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले जनता, सरकार र गैरसरकारी संघसंस्थाहरुको सहकार्यबाट राष्ट्रिय गौरवको आयोजना बनाउन सकिन्छ भन्ने उदाहरण यो रंगशाला बन्न सक्ने बताउनुभयो । गत जेठ १५ गते विहानै रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको छ ।