विराटनगर । अस्पतालको अप्रेशन कोठामा रंग रोगन तथा मर्मत संहार गर्नु पर्ने भन्दै कोशी अस्पतालले सर्जिकल विभागको अप्रेशन कक्ष बन्द गरेपछि सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् ।
सरकारी अस्पतालको अप्रेशन कक्ष बन्द भएपछि महँगो मूल्य तिरेर बाहिर उपचार गराउन सर्वसाधारण बाध्य भएका छन् । सुनसरीको देवानगञ्चबाट छोरीको हात भाचिएर उपचारका लागि विराटनगरको कोशी अस्पताल आएका सखिचन्द यादवले अस्पतालको अप्रेशन कक्ष बन्द हुदा आफू चिन्तामा परेको बताउनुभयो । कोशी अञ्चल अस्पतालले आईतबार एउटा सुचना जारी गरी अप्रेशन कक्ष बन्द भएको जनाएको छ । सुचनामा अस्पतालको अप्रेशन कोठामा रंग रोगन तथा मर्मत संहार गर्नु पर्ने भएकोले बन्द गरिएको जनाइएको छ । अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले अस्पतालको मर्मत संभार र रंगरोगनका लागि बन्द गरिएको बताउदै मंगलबारदेखि नै संचालन गर्ने भनिए पनि अझै काम नसकिएकाले शुक्रबारदेखि पूर्ण रुपमा संचालनमा आउने बताउनु भयो । दैनिक अस्पतालमा आउने बिरामी मध्ये १० जनासम्मको अप्रेशन गर्ने गरिएको उहाँले बताउनु भयो ।