Friday, November 22, 2024
Home > मुख्य समाचार > लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर संसदीय समितिमा आरोप प्रत्यारोप

लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर संसदीय समितिमा आरोप प्रत्यारोप

काठमाडौं । लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर संसदीय समितिका सांसद र आयोगका पदाधिकारीबीच आरोप प्रत्यारोप चलेको छ ।

संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा समिति सदस्यहरु र आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीबीच आरोप प्रत्यारोप चलेको हो । समिति सदस्यहरु अमरेश कुमार सिंह, बृजेश कुमार गुप्ता, रामसहायक प्रसाद यादवले अधिकार केन्द्रीय शासन सत्ताबाट बाहिर नजाओस भन्ने कुत्सित मनसायका साथ संविधान विपरित विज्ञापन आव्हान गरिएको धारणा राखेपछि आयोग अध्यक्ष मैनालीले संसदले नै बनाएको कानुन अनुसार आयोग चलेकाले आयोगले बेइमानी नगरेको स्पष्ट पार्नुभयो ।
समिति सदस्य अमरेश कुमार सिंहले संघीयता समाप्त पार्ने षडयन्त्र अनुसार सरकार र आयोगको मिलेमतोमा संविधान विपरित विज्ञापन आव्हान गरिएको आरोप लगाउनुभएको थियो । समिति सदस्यहरु बृजेश कुमार गुप्ता र रामसहायक प्रसाद यादवले एउटा गाउपालिका वा नगरपालिकाको हवाला दिएर त्रुटी सच्याउन खोज्नु गलत भएको भन्दै विज्ञापन रोक्न निर्देशन दिनुपर्ने धारणा राख्नुभएको थियो ।सदस्यहरुले आयोगले संविधानको उलंघन गरेको भनेपछि अध्यक्ष मैनालीले संविधानले गरेको व्यवस्था र कर्मचारी समायोजन ऐन २०७५ मा भएको व्यवस्था बारे विस्तृत जानकारी गराउदै कानुन अनुसार नै आयोग चलेको बताउनुभएको थियो । आयोग सधै संसद प्रति उत्तरदायी हुने र संसदका निर्देशन स्वीकार गर्ने भन्दै उहाँले विज्ञापन सम्बन्धी विवादमा चाडो निर्णयमा पुग्न समितिलाई आग्रह गर्नुभयो ।

लोकसेवा आयोगले जेठ १५ गते ९ हजार १ सय ६१ पदका लागि आव्हान गरेको विज्ञापन संविधानले प्रत्याभुत गरेको समावेशी समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै संसदमा कुरा उठेपछि समितिले त्यसबारे आयोगसंग छलफल गरेको हो । आयोगले सरकारले माग गरे अनुसार विज्ञापन आव्हान गरिएको बताएपछिसम्बन्धीत मन्त्रालयसंग यसबारे छलफल गर्ने निष्कर्षमा समिति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *