काठमाडौं । राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्रलाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न ÷गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आव्हान गरिएको भन्दै उहाँले सरकार कसले चलाएको छ भनि प्रतिप्रश्न गर्नुभयो । उहाँले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको टिप्पणी गर्नुभयो । संविधान विपरित विज्ञापन आव्हान गर्नुले सरकारको कुनियत देखिएको दाबी उहाँले गर्नुभयो । सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद यादवलाई बोल्नका लागि समय दिनुभएको थियो ।