विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रुग्ण सरकारी उद्योगहरु पुनः संचालनमा ल्याउने तयारी भईरहेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री यादवले उच्च अदालतको न्यायाधिसको नेतृत्वमा गठन गरिएको आयोगले दिने प्रतिवेदन पछि सरकारद्वारा सञ्चालित रुग्ण उद्योगहरु गोरखामा रहेको रवर उद्योग, विरगञ्ज चिनी कारखानालाई व्यवस्थित गरेर संचालन गरिने वताउनुभयो । उहाँले विगत पाँच वर्षको अवधिमा सरकारले बन्द गरेको गोरखकाली रवर उद्योगका कर्मचारीहरुलाई मात्र १ अर्व १० करोड भुक्तानी गरेको वताउनुभयो । मन्त्री यादवले विगतको सरकारले सरकारका उद्योग कौडीको मूल्यमा निजी क्षेत्रलाई विक्रि गरेको आरोप लगाउदै आगामी दिनमा सरकारले निजी साझेदारीको अवधारणा अनुसार सरकारी उद्योग सञ्चालन गर्ने वताउनुभयो । उहाँले विराटनगर जुट मिल एउटा परिवर्तनको प्रतिकको रुपमा रहेको चर्चा गर्दै यसलाई सञ्चालन गरी जिउँदो संग्रहालयमा परिणत गर्ने वर्तमान सरकारको सोच रहेको वताउनुभयो । मन्त्री यादवले चिनी उद्योगी वच्नु पर्ने, उपभोक्ताले सुपथ मूल्यमा वस्तु पाउनु पर्ने र किसानले समयमा रकम भुक्तानी पाउनुपर्ने अवधारणाको सोच अनुसार सरकारले कार्य गरिहेको तथा यो समस्या चाँडै समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो ।