मोरङ । मोरङको कटहरी गाउँपालिकास्थित क्वालिटी केम प्रालिले उद्योगबाट विर्सजित प्रदूषणयुक्त पानी सिधैं खोलामा मिसाउने गरेको फेला परेको छ ।
कटहरी–४ स्थित सो उद्योगबाट बिर्सजन हुुने हानिकारक केमिकलयुक्त पानी सिधै खोलामा मिसाइएका कारण खोला आसपासका बासिन्दा प्रभावित भएका छन् । प्रदूषित खोलाको पानीका कारण त्यसक्षेत्रका बासिन्दा चर्म रोगबाट पीडित हुनुका साथै उनीहरुका वस्तुभाउ समेत मरेका छन् । प्रदूषणयुक्त खोलाको पानीमा नुहाउँदा स्थानीयवासी बिरामी भएका हन् भने खोलाको पानी खाएका कयौं स्थानीयका वस्तुभाउसमेत मरेका छन् । कटहरी–४ का जसाई मुर्मुले खोलाको पानी खाएकै कारण आफ्नो एउटा भैंसी मरेको र अर्को बिरामी भएको जानकारी दिनुभयो । तरकारी उत्पादनको पकेट जोनका रुपमा रहेको सो क्षेत्रमा खोलाको पानी खेतबालीमा लगाउँदा स्थानीयबासीको तरकारी खेतीमा क्षति पुगेको स्थानीय युवा विनोद सिंहले जानकारी दिनुभयो । पटकपटक अनुरोध गर्दासमेत उद्योगीले प्रदूषणयुक्त पानी खोलामा मिसाउन नछाडेका कारण समस्या निम्तिएको उहाँको भनाइ छ । खोलामा प्रदूषणयुक्त पानी मिसाएका कारण निम्तिएको समस्याका विषयमा तयार पारिएको स्थलगत रिपोर्ट आज साँझ साढे ७ मा प्रशारण गरिने छ ।