काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत भइरहेको छ ।
सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गर्नुभएको हो । उहाँले सम्बोधनको सुरुमा नै आफ्नो चीन भ्रमण सफल भएको र यसले दुई देशको सम्बन्ध थप सुमधुर भएको बताउनु भएको छ । नीति कार्यक्रमले मानवीय क्षमता विकास, उद्यमशीलता र रोजगारी विकास दिगो विकास पर्यावरणीय संरक्षण गर्ने उल्लेख छ । यस्तै यो नीति कार्यक्रम समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्नेमा केन्द्रित छ । समृद्धिको आधार वर्ष बनाउन सरकार सफल भएको पनि उल्लेख गरिएको छ । सरकारका कारण जनतामा उत्साह आएको छ तथा सरकारले लिएका नीति कार्यक्रमबाट सुशासनको आधार तयार भएको उल्लेख गरिएको छ । नक्कली बिल प्रयोग र हुन्डी कारोबारलाई कानूनी दायरामा ल्याइएको, अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको उल्लेख गरिएको छ । यसैगरी नीति तथा कार्यक्रममा जेष्ठ नागरिक स्वास्थ्य बीमा तथा प्रधानमन्त्री रोजगारी कार्यक्रम सुरु गरिएको, सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिएको उल्लेख गर्नुभएको छ । यसैगरी पूर्वपश्चिम रेलमार्ग आगामी वर्ष सुरु गर्ने ,कोशी र कर्णाली करिडोरको ट्रयाक खोल्ने काम आगामी वर्ष सकिने ,४ वर्षभित्र मध्यपहाडी लोकमार्ग, फास्ट ट्रयाक र हुलाकी राजमार्ग निर्माण सकिने र आगामी आर्थिक वर्षभित्र मेलम्ची आयोजना पूरा गरिने उल्लेख गरिएको छ ।