Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रदेश १ को राजधानी ‘विराटनगर’मा राख्न नेकपा नेतृत्व सहमत

प्रदेश १ को राजधानी ‘विराटनगर’मा राख्न नेकपा नेतृत्व सहमत

विराटनगर, २० बैशाख ।
प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर बनाउन नेकपाको नेतृत्व सहमतिको नजिक पुगेको छ । नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार बिहिबार प्रदेश १ का १४ वटै जिल्लामा सांसदहरुसँग भएको छलफलपछि पार्टी नेतृत्व उक्त निश्कर्षको नजिक पुगेको हो । मकालु टेलिभिजनको नियमित कार्यक्रम मकालु विशेषमा शुक्रबार विहान कुराकानी गर्दे उहाँले प्रदेशको नाम भने चर्चामा आएका कोसी, सगरमाथा, किराँत, लिम्बुवान तथा चोमोलोङमा मध्येबाटै तय गरिने बताउनुभयो । राजधानीका लागि विराटनगरको विकल्प नभएको र प्रतिपक्षी समेतको सहयोगमा दुई तिहाई मतद्वारा नै विराटनगर राजधानी घोषणा हुने उहाँले स्पष्ट पार्नुभयो । शुक्रबार दिउँसो नेकपा संसदीय दलको बैठक बस्दैछ । उक्त बैठकमा पार्टी नेतृत्वको निश्कर्षलाई सुझावका रुपमा प्रस्तुत हुने राजभण्डारीले बताउनुभयो । नेकपाको प्रदेश कमिटीको बैठकमा इन्चार्ज भीम आचार्य, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, मुख्यमन्त्री शेरधन राई ,प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे र सचिव सुरेश राई विराटनगरलाई प्रदेश राजधानी बनाउने बिषयमा सहमत रहेको उहाँले बताउनुभयो । संसदीय दलको निर्देशन विपरित केही सांसदहरुले आफूखुसी हस्ताक्षर अभियान चलाएपनि त्यसले राजधानी विकेन्द्रिकरण वा विराटनगरको विकल्प नखोज्ने राजभण्डारी बताउनुभयो । बाहिर चर्चामा आएजस्तो बृहत विराट क्षेत्रलाई राजधानी तोक्ने भन्ने विषयमा पनि कुनै सत्यता नरहेको उहाँले प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *