विराटनगर । प्रदेश १ को नाम र राजधानीको टुंगो तत्काल नलाग्ने भएपछि प्रस्ताव हाल्ने समयावधि थप गर्ने सर्वदलीय सहमति बनेको छ ।
विराटनगरस्थित बिग होटलमा बसेको सर्वदलीय बैठकले प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने समय २२ गतेसम्मलाई बढाउने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताउनु भयो । बैठकमा सबै दलको सहमतिको आधारमा नाम र राजधानी तोकेर जाने र आज दिनभर कसैले पनि प्रस्ताव दर्ता नगर्ने सहमति भएको कार्कीको भनाइ छ । बैठकमा सहभागी संघीय लिम्बूवान राष्ट्रिय मञ्चकी नेतृ तथा सांसद विष्णुमाया तुम्बाहाम्फेले मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विराटनगर राख्ने विषयमा प्रष्ट कुरा राखेको भएपनि नामको विषयमा स्पष्ट नभनेको बताउनु भयो ।
बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, संघीय लिम्बूवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र राप्रपा नेपालकी इन्दिरा राईको सहभागिता थियो । प्रदेशको नाम र राजधानीको विषयमा नेकपा टुंगोमा पुग्न नसक्दा छलफल लम्बिने भएको हो । यसैबीच नेकपाका पदाधिकारी तथा सांसदहरुबीच बिहानैदेखि छलफल जारी छ । दलहरु छलफलमै व्यस्त भएको कारण देखाउँदै आजको १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख भण्डारीले प्रदेशसभाको अर्को बैठक २२ गते दिनको १ बजेलाई बोलाइएको बताउनु भयो ।