काठमाडौं । काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीहरुले आन्दोलन सुरु गरेका हुन । आज बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले त्यहाँ बनाएका सटरहरु पनि बन्द गराएका थिए । खुलामञ्च खुला गर्न काठमाडौं महानगरपालिकासँग माग गर्दै उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । खुलामञ्च अतिक्रमण हुँदा पनि काठमाडौं महानगरपालिकाले वास्ता नगरेपछि त्यसको विरोधमा स्थानीय आफैं आन्दोलनमा आउनु परेको असनका योगेशकुमार खड्गीले बताउनुभयो । उहाँले जनताबाट निर्वाचित निकाय काठमाडौं महानगरपालिकाले समेत कमिशनमा खुला मञ्च अतिक्रमणमा सघाउ पुर्याएपछि स्थानीय जनता त्यसको विरोधमा स्वःस्तफूर्त सहभागी भएको पनि स्पष्ट पार्नुभयो ।
काँग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ७ का सांसद भिमसेनदास प्रधानसहितको उपस्थितिमा भएको विरोध प्रर्दशनमा खुला क्षेत्र अतिक्रमण गरेर काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर संचालन गर्न अनुमति दिएकोे भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरुले खुला मञ्च अतिक्रमण गर्न दिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको चर्को आलोचना गर्दै नाराबाजी गरेका थिए । स्थानीयले खुलामञ्च अतिक्रमण तत्काल रोक्न र त्यहाँ निर्माण गरिएका अस्थायी सटर तत्काल हटाउन माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरेका छन ।