Monday, November 25, 2024
Home > मुख्य समाचार > सुनसरीका केही परीक्षा केन्द्रमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन

सुनसरीका केही परीक्षा केन्द्रमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन

सुनसरी, १३ चैत्र । सुनसरीका केही परीक्षा केन्द्रहरुमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन भइरहेको पाइएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनको क्रममा केही परीक्षाका केन्द्रमा मर्यादाविपरीत शंकास्पद गतिविधि भएको पाइएको हो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबार सुनसरीका आधा दर्जन परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ । मन्त्री घिमिरेसहित मन्त्रालयका निमित्त सचिव दिव्यराज कट्टेल र सञ्चारकर्मीहरुको टोलीले सुनसरीका परीक्षा केन्द्रहरुको निरीक्षण गरेको हो । सो क्रममा अधिकांश विद्यालयहरुमा मर्यादितरुपमा परीक्षा सञ्चालन भएको देखिए पनि केही केन्द्रहरुमा परिक्षाको मर्यादाविपरीतका गतिविधि भएको फेला परेको थियो । केन्द्रमा टोली पुग्दा परीक्षालाई मर्यादित बनाउन खटिएका गार्डहरु अस्वाभाविक रुपमा चलायमान भएका देखिन्थे । निरीक्षण टोली परीक्षा केन्द्रको गेटमा पुग्दा उनीहरु टोली आएको सूचना प्रवाह गर्न चलायमान भएको सहजै अनुमान गर्न सकिन्थ्यो । इटहरी–४ को कचना महादेव माध्यमिक विद्यालयमा राखिएको परीक्षा केन्द्रको एउटा कोठामा देखिएको यो दृश्य हेर्नुस त । निरीक्षण टोली आएको थाहा पाएपछि अत्ताल्लिएकी एकजना महिला गार्डले निरीक्षण टोलीलाई छल्न परीक्षा दिइरहेकी छात्राको कपीमुनिबाट केही वस्तु निकालेर लुकाइरहेको देखिन्छ । हामीले क्यामराको रेकर्डर अन गर्दैगर्दा त्यो दृश्यको केही अंश मात्र खिच्न सफल भयौं । अन्य केन्द्रहरुमा मन्त्रीको नेतृत्वमा अनुगमन टोली आउने सूचना पहिल नै पाइसकेकाहरु त्यसै सर्तक भएका थिए भने केही ठाउँमा मर्यादित र नियमसंगत ढंगले नै परीक्षा संचालन भएको थियो । ग्रेडिङ सिस्टम आएपछि विद्यार्थीहरुमा परीक्षाको गम्भीरता केही घटेको पब्लिक हाइस्कुल धरानका प्रधानाध्यापक इन्द्रमोहन झाको भनाइ छ । सो बिषयमा प्रतिक्रिया दिनुहुंदै निरीक्षण टोलीका सहभागी मन्त्रालयका निमित्त सचिव दिब्यराज कट्टेलले परीक्षा मर्यादितरुपमै सञ्चालन भएको दाबी गर्नुभयो ।

निरीक्षणपछि प्रतिक्रिया दिनुहुंदै मन्त्री घिमिरेले भने निरीक्षणको क्रममा केही कमीकमजोरी फेला परेको स्वीकार्नुभयो । उहाँले त्यस्ता कुराहरु सुधार्न पहल गरिने प्रष्ट पार्नुभयो । निरीक्षण टोलीले धरान–८ गंगालाल मार्गस्थित सहिद स्मृति माध्यमिक विद्यालय, धरान–१२ चतरा लाइनस्थित पब्लिक हाईस्कुल, इटहरी–४ स्थित कचना महादेव माध्यमिक विद्यालय, इटहरी–९ स्थित जनता माध्यमिक विद्यालय र इटहरी–१२ खनारस्थित शारदा माध्यमिक विद्यालयमा राखिएको परीक्षा केन्द्रहरुको अनुगमन निरीक्षण गरेको छ । सुनसरीमा १२ हजार ५ सय ९७ विद्यार्थीले ४८ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा दिइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *